गाजामा बढ्दो तनावबिच रफाह आक्रमणविरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार कडा चेतावनी जारी गर्दै रफाहको भूमि आक्रमण ‘असहनीय’ हुने बताउनुभएको छ । उहाँले यसको विनाशकारी मानवीय परिणाम तथा यस क्षेत्रमा सम्भावित अस्थिर प्रभाव हुने बताउनुभएको सिएनएनले बताएको छ ।
प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार मङ्गलबार बिहान रफाहमा धेरैवटा हवाई आक्रमणका कारण तनाव बढ्दा मानिसहरू हताहतमा परेका छन् भने कयौँ घाइते भएका छन् ।

“सिभिल डिफेन्स टोलीहरूले दक्षिणी गाजा पट्टीको रफाह प्रान्तका विभिन्न स्थानमा सोमबार राति इजरायली लडाकु विमानहरूले बम प्रहार गरेका धेरै घरहरूको भग्नावशेषमुनिबाट धेरै सहिद र घाइतेलाई निकाल्न सफल भएका छन्”, प्यालेस्टिनी डिफेन्सको विज्ञप्तिमा भनिएको छ ।

सिभिल डिफेन्सले जारी गरेको तस्बिरहरूले बमबारी भएका घरहरूको भग्नावशेषमुनि हताहत भएका धेरैलाई फेला पारेको विज्ञप्तिमा उल्लेख छ । मङ्गलबार बिहान जारी एक फेसबुक पोस्टका अनुसार रफाहको कुवेत अस्पतालमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

बढ्दो हवाई आक्रमणका बिच इजरायली प्रधानमन्त्रीको कार्यालयले सोमबार ‘हमासमाथि सैन्य दबाब दिन’ रफाहमा सैन्य कारबाही जारी राख्ने पुष्टि गरेको छ । इजरायली रक्षा बल (आइडीएफ) ले पूर्वी रफाहमा हमासका आतङ्कवादी लक्ष्यहरू विरुद्ध जारी लक्षित आक्रमणहरू गरेको बताएको छ ।

सिभिल डिफेन्सका अनुसार आइतबारदेखि सोमबारसम्म रातभर भएको घातक बमबारीपछि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।