अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
काठमाण्डौ । अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुहरु मरेका छन् ।
टोलो न्यूजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरु पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताउनु भएको छ ।
बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाउनुभयो । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकारसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् ।