सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८ सय शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरको शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताउनुभएको छ ।
आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताउनु भएको छ ।