चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवस आज

काठमाण्डौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आज पहिलोपटक स्थापना दिवस मनाउँदैछ ।

वीर अस्पतालका पूर्वनिर्देशक एवम् न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान र २२ औँ वर्षका उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा विस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिनुभयो । न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था बनेको पनि उहाँको भनाइ छ ।

उपकुलपति बस्नेतका अनुसार न्याम्सबाट वार्षिक पन्ध्र सयभन्दा धेरै एमडीएमएस, एक सय २० भन्दा धेरै डीएमएस चिकित्सक, एक हजार चार सय नर्स गरी तीन हजार दुई सय ४६ जना दक्ष जनशक्ति उत्पादन भएका छन् । न्याम्समा विशेषज्ञ चिकित्सक एमडीएमएस १९ विषयमा र डीएमएमसीएसका १५ विषयमा अध्यापन हुँदै आएको छ ।

आउँदो शैक्षिकसत्रमा एमबिबीएस कार्यक्रम शुरु गर्ने तयारी रहेको छ । २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो ।

प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।