पाकिस्तानमा ६० वर्ष यताकै ठुलो वर्षा

पाकिस्तानमा ६० वर्ष यताकै ठुलो वर्षा भएको छ । सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको हो । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । विभागकाअनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले रिपोर्टमा उल्लेख गरेको छ । भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षाप्रति अहिलेदेखि संवेदनशील र सचेत भएको खबरमा उल्लेख छ । विश्व बैंकको अनुमानअनुसार सन् २०२२ को गर्मीमा पाकिस्तानको एक तिहाई भाग अभूतपूर्व मनसुनी वर्षाका कारण जलमग्न हुँदा लाखौँ मानिस विस्थापित भएका थिए भने देशलाई ३० अर्ब डलरको आर्थिक क्षति भएको थियो ।