![](https://radioshwetashardul.org/wp-content/uploads/2024/04/Screenshot-2024-04-30-175536-1.png)
‘सिधाकुरा डटकम’ सामग्री हटाउने आदेशप्रति प्रेस सेन्टर नेपालको ध्यानाकर्षण
काठमाण्डौ । ‘सिधाकुरा डटकम’ अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ श्रृंखलान्तर्गत प्रकाशित सामग्री हटाउन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रेस सेन्टर नेपालले ध्यानाकर्षण जनाएको छ ।
सञ्चारमाध्यममा प्रकाशित प्रसारित कुनै पनि सामग्री फौजदारी कानुन अन्तर्गत पर्ने विषय कल्पनासमेत गर्न नसकिने भन्दै संगठनले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
‘सम्मानित सर्वोच्च अदालतको आदेशमा उल्लेख भएको ‘यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु तथा नगराउनु’ भन्ने विषय र छानबिन बिना सामग्री हटाउने आदेश र फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउन आदेश दिनुले पूर्ण प्रेस स्वतन्त्रताको हनन् भएको हाम्रो ठहर छ ।’ संगठनका महासचिव सन्तोष पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी सञ्चार माध्यमले आफूले उत्पादन तथा प्रकाशन र प्रसारण गरेको सामग्रीको आधिकारीकता प्रमाणसहित पुष्टि गर्ने र पत्रकार आचासंहिताको पूर्ण पालना गर्नुपर्ने जिम्मेवारी र दायित्वप्रति प्रेस जगत गम्भीर र प्रतिवद्ध हुनुपर्ने कुरामा संगठनको स्पष्ट मान्यता रहेको संगनठले जनाएको छ ।
नेपालको संविधानले प्रेस स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रुपमा ग्यारेण्टी गरेको भन्दै संवैधानिक व्यवस्थाका विरुद्ध राज्यका कुनै पनि निकायबाट हुने कुनै पनि निर्णय र निर्देशनप्रति प्रेस सेन्टर नेपाल सहमत नहुने पनि उल्लेख गरेको छ ।