उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छः अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ को उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जीतेपछि नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेकपा एमालेको पक्षमा नेपाली जना उभिएका बताउनुभयो ।

नेपालमा बस्नेको सबैभन्दा पहिलो पहिचान नेपाली भएको उहाँले बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली नै नेपालीको पहिचान बन्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो।

अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने ओलीले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा कुनै पनि नेपाली गरिब नहुने उहाँले दाबी गर्नुभयो ।

ओलीले इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने बताउनुभयो । सुहाङको जिम्मा नेकपा एमाले र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

केही मान्छेहरूले सुहाङलाई राजाको छोरा राजा भनेर कुप्रचार गरेका भन्दै ओलीले सुवास नेम्बाङ श्रमजीवीका नेता भएकोले श्रमजीवी नेताको छोरा सुहाङ श्रमजीवीकै नेता भएको स्पष्ट पार्नुभयो ।

एमालेले चुनावी कार्यक्रममा बोलेको कुरा संकलनको लागि मात्र बोलेको कुरा नभई आफूले बोलेका कुरा पुरा गरेर छाड्ने बताउनुभयो । विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा एमालेसँग मात्र भएको उहाँले दाबी गर्नुभयो ।

अहिले देशमा बलियो निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउदै त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।