वासिङटन पोस्टको रिपोर्ट– रअको आदेशमा अमेरिकामा ‘हत्या प्रयास’ : भारतले गर्यो खण्डन
एजेन्सी । अमेरिकी अखबार वासिङटन पोस्टले अमेरिकामा रहेका सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नूको हत्याको असफल षड्यन्त्रमा भारतको गुप्तचर एजेन्सी ‘रअ’का अधिकारीको भूमिका रहेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले सो रिपोर्टका बारेमा मंगलबार प्रतिक्रिया दिएको छ । त्यसमा भनिएको छ, “रिपोर्ट एक गम्भीर मामिलामा अनुचित र निराधार आरोप हो । संगठित अपराधी तथा आतंकवादीको नेटवर्कमा अमेरिकी सरकारको साझा सुरक्षा चिन्तापछि भारत सरकारले उच्चस्तरीय समिति गठन गरेको छ, जसले यो मामिलाको जाँच गरिरहेको छ । यसका बारेमा अड्कल गर्नु र गैरजिम्मेवार बयान दिनु मद्दतगार साबित हुँदैन ।”
रअका अधिकारी विक्रम यादवले यो हत्याको ‘सबैभन्दा प्रमुख प्राथमिकता’ बताएका थिए । यादवले पन्नूको न्युयोर्कस्थित आवासबारेको जानकारी ‘सुपारी’ लिने व्यक्तिलाई दिइरहेका थिए । यादवसँग जोडिएको पहिचान र यस मामिलामा उनको संलग्नताबारे यसअघि कुनै विषय सार्वजनिक नभएको र उनको नाम सार्वजनिक हुनु नै योजनालाई असफल बनाउने अहिलेसम्मको सबैभन्दा स्पष्ट प्रमाण रहेको अखबारमा उल्लेख छ ।
वर्तमान तथा पूर्वपश्चिमी सुरक्षा अधिकारीका अनुसार, सीआईए, एफबीआई र अरू एजेन्सीले गरेको जाँचमा केही उच्च तहका रअका अधिकारी पनि ‘घेरा’मा परेका थिए । अखबारले दाबी पनि गरेको छ— अमेरिकी खुफिया एजेन्सीले पनि यो आकलन गरेको छ कि पन्नूलाई निसाना बनाउनेवाला अपरेसनका लागि त्यस बेलाका रअका प्रमुख सामन्त गोयलबाट नै अनुमति मिलेको थियो ।
पूर्ववरिष्ठ भारतीय सुरक्षा अधिकारीले वासिङटन पोस्टसँगको कुराकानीमा उनलाई ‘अपरेसन’को जानकारी भएको र गोयलमाथि विदेशमा रहेका सिख चरमपन्थीलाई खतम गर्न दबाब परेको जनाएका छन् ।
अमेरिकाभन्दा पहिला जुन १८ मा क्यानडाको भ्यान्कुभरनजिकै गोली हानी हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । सो अपरेसनमा भारतको भूमिका रहेको आरोप लगाइएको थियो । तर, भारतले आरोपको खण्डन गरेको थियो । सो अखबारका अनुसार, पाकिस्तानमा कम से कम ११ यस्ता सिख र कास्मिरी पृथकतावादी नेता मारिएका थिए, जसलाई मोदी सरकारले आतंकवादी घोषणा गरेको थियो ।
त्यस्तै, गएको वर्षको नोभेम्बरमा अमेरिकाले भारतीय नागरिक निखिल गुप्ताले न्युयोर्कमा पृथकतावादी नेताको हत्याका लागि एक व्यक्तिलाई भाडामा लिएको र त्यसको बदलामा करिब एक लाख डलर अर्थात् ८३ लाख भारु दिएको जनाएको थियो । गुप्तालाई भारत सरकारका एक कर्मचारीबाट निर्देशन प्राप्त भएको अमेरिकी अदालतमा पेस गरिएको दस्ताबेजमा उल्लेख भएको बीबीसी हिन्दीले जनाएको छ ।