मजदुर दिवसबारे भोली जिफन्टको पत्रकार सम्मेलन, सरकारको श्रमनीतिबारे धारणा सार्वजनिक गर्दै
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैशाख १९ गते मनाउन लागिएको अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस) का कार्यक्रम सार्वजनिक गर्न सोमबार (१७ गते) पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । जिफन्ट महासचिव लक्ष्मण शर्माका अनुसार पुतलीसडकस्थित आफ्नै केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना हुनेछ ।
सो अवसरमा जिफन्टले नेपाली श्रम बजारको अवस्थाबारे गरेको अध्ययन प्रतिवेदन समेत सार्वजनिक गर्ने भएको छ ।
वर्तमान गठबन्धन सरकारले नेपाली श्रमिकहरूप्रति लिएको नीतिबारे जिफन्ट सन्तुष्ट नरहेको बुझिएको छ । यसबारे जिज्ञासा राख्दा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सोमबारको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भयो ।
“सरकार कहाँनेर चुक्यो, त्यो हामी पत्रकार सम्मेलनमा भन्नेछौं ।” नेकपा एमालेका पलिटब्यूरो सदस्य समेत रहनु भएका श्रेष्ठले प्रतिकृया दिनुभयो ।
यस पटक जिफन्टले ‘नयाँ सामजिक सम्झौताका लागि सुदृढ लोकतन्त्र, सामाजिक सुरक्षा र मर्यादित रोजगारी सहितको अर्थतन्त्र” भन्ने नाराका साथ स्वदेश तथा विदेशका कमिटिहरू माझ १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने भएको छ ।