प्रसारण लाइन निर्माण सक्दा युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थाबाट मुक्त हुन सकेनौँ : घिसिङ
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एउटा प्रसारण लाइन लामो समय लगाएर पूरा गर्दा युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थाबाट हामी मुक्त हुन नसकेको बताउनुभएको छ ।
आइतबार काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र र्मस्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
यस्तो अवस्थाबाट चाँडै मुक्त हुन सकेनौँ भने सरकार र जनताले चाहेका द्रुत गतिका विकासको अपेक्षा पूरा गर्न नसकिने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “जलविद्युत तथा प्रसारण लाइन निर्माणमा मुख्य समस्याका रूपमा रहेको वन कटानी तथा जग्गा प्राप्तिसम्बन्धी कार्यलाइ सहज एवं छिटोछरितो नबनाएसम्म यस्ता आयोजनाहरू पूर्वनिर्धारित समय र लागतभित्र सक्न सम्भव छैन ।”