चेपाङ महिला माथी हुने हिँसाबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्ट)
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले चेपाङ महिला माथी हुने गरिएका लैङ्गिक हिँसाका घटनाबारे गरिएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष वैशाख १४ गते (शुक्रबार) सार्वजनिक गरेको छ ।
निफ अध्यक्ष सुनी लामाको अध्यक्षतामा नयाँबानेश्वरमा आयोजित कार्यक्रमकावीच प्रमुख अतिथि एवम् प्रतिनिधी सभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले सो प्रतिवेदनको निष्कर्ष सार्वजनिक गर्नुभएको हो ।
निफले चितवनको इच्छाकामना गाउँपालिका अन्तरगतका चेपाङ समुदायमा सो अध्ययन गरेको हो ।
पालिकाका विभिन्न ६ वटा चेपाङ टोलका १ सय १८ चेपाङ महिला माथी गरिएको सो अध्ययनले शारिरीक हिँसा, भावनात्मक हिँसा, मनोवैज्ञानिक हिँसा र यौन हिँसाका अवस्थाहरू समेटिएको कार्यक्रममा जानकारी गराएको थियो ।
अध्ययन प्रतिवेदन अनुसार चेपाङ महिलामा सबैभन्दा बढी शारीरिक हिँसा ९३ प्रतिशत श्रीमानबाट हुनेगरेको छ । नेपालस्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, यूएनडिपीको सहयोगमा मानवशास्त्री अमित लामाको नेतृत्वमा मनमाया चेपाङ लगायतका सोधकर्ताहरूले उक्त अध्ययन गर्नुभएको हो ।
सोधकर्ता लामाले अध्ययनको निष्कर्षहरू समेटिएको प्रस्तुतिकरणमा ९३ प्रतिशत चेपाङ महिलाहरू जीवनभर श्रीमान्बाट शारिरिक हिँसामा परेको बताउनु भयो ।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा शारिरिक हिँसामा परेका चेपाङ महिलाहरू १४ प्रतिशत निरक्षर भएको उल्लेख छ ।
ती महिलाहरूमा स्थानीय तह अन्तरगत रहेको न्यायिक समितिबारे समेत अनभिज्ञ रहेको सार्वजनिक अध्ययन निष्कर्षले बताएको छ ।
अध्ययन निष्कर्षका अनुसार अधिकांस चेपाङ महिला कम उमेरमा नै बिवाह गर्ने र सन्तान जन्माउनेमा पर्दछन् । ७८ प्रतिशत चेपाङ महिलाहरूको १९ बर्ष भन्दा कम उमेरमा नै बिवाह भएको प्रतिवेदनले जनाएको छ ।
अध्ययनको निष्कर्षबारे प्रस्तुतिकरणमा मुख्य शोधकर्ता लामाले चेपाङ वस्तीमा सचेतनाको थालनी गर्नुपर्ने, स्थानीय सरकारले हिँसात्मक कार्यको रोकथाम र सुरक्षात्मक कार्यक्रम लागूगर्नुपर्ने, न्यायिक समितिलाई सम्बन्धित महिला समुदायमा सक्रिय बनाउनुपर्ने लगायतका विभिन्न ८ बुँदे सिफारिस समेत गर्नुभयो ।
सार्वजनिक प्रतिवेदनमाथी स्थानीय सरकार विज्ञ डाक्टर सङ्ग्रामसिंह लामा, पद्मकन्या कलेजकी लैङ्गिक अध्ययन विषयका विज्ञ माला राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, आदिवासी महिला कानुनी सचेतना समूहका उपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता उमा तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शोभा सुनुवार, अपाङ्ग महिला संघकी सचिव सुनिता थापा लगायतले टिप्पणी एवम् सुझाव राख्नु भयो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथि लैङ्गिक समानता र सामाजिक समावेशिता तथा आदिवासी दृष्टिकोणबाट समीक्षा गरिएको थियो ।
सार्वजनिक गरिएको अध्ययन निष्कर्षबारे संसदको विषयगत समिति महिला तथा सामाजिक मामिला समितिका सचिव इन्द्रविलास पौडेलले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् एवम् प्रतिनिधी सभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले समृद्ध सांस्कृतिक सम्पदा भएको चेपाङ महिलाहरूले लैङ्गिक हिँसा र सामाजिक असमानता व्यहोर्नु दुःखद भएको बताउनुहुँदै विभेद अन्त्यका लागि सबै किसिमका पहलको थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) की अध्यक्ष सुनी लामाले अध्ययनका निष्कर्षलाई यतिमै सिमित नराखिने बताउनु भयो । उहाँले चेपाङ महिलाको सशक्तिकरणका सवालमा अध्ययन प्रतिवेदन सहित इच्छाकामना गाउँपालिकासँग अन्तरक्रिया गरिएको बताउनु भयो । अध्यक्ष लामाले चेपाङ महिला लायत सिमान्तकृत समुदायका सवालहरूलाई निफले अन्तरराष्ट्रिय मञ्चहरूमा समेत उठाउँदै आएको बताउनु भयो
यस सम्बन्धी शार्दूल खबरमा प्रसारित भिडियो रिपोर्ट