व्यवहारमा करुणा ध्यान साधना कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौंस्थित तामाङ भवनमा व्यबहारमा करूणा सम्बन्धी ध्यान साधना बिहीबार सम्पन्न भएको छ । ५ दिनसम्म आयोजित सो ध्यान साधना कार्यक्रम बौद्ध दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिको सहयोगमा सम्पन्न भएको हो ।
साधनामा सहभागीहरूलाई सम्बोधन गर्दै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले बुद्ध चरित्रको मन बनाउन ध्यान आवश्यक रहेको बताउनु भयो । उहाँले, मानिसको मन चञ्चल स्वभावको हुने र यसलाई एकत्रित बनाउन ध्यानले सहयोग पुग्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै, प्रमुख प्रशिक्षक ङावाङ खेन्रब शेर्पाले ध्यानको विभिन्न चरणहरू हुने र सबै चरण पार गर्दै जान साधकहरूलाई अनुरोध गर्नुभयो ।
उक्त ध्यान साधना कार्यक्रम करुणा बुद्विजम सेन्टर नेपालको व्यवस्थापनमा सम्पन्न भएको हो । करुणा नेपालका सोनाम लामाले यो ५ दिनको साधना उपलब्धिमूलक रहेको बताउनु भयो ।
यसैगरी, ध्यानमा सहभागी सरू डिम्दोङले ध्यानबाट मनलाई एकात्रित बनाउने ज्ञान प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।
“आज मलाई जति मन एक ठाउँमा रहन सिकायो त्यो कुरा समाज र आफुले कार्य गर्ने क्षेत्रसम्म लागू गर्ने कोसिस गर्नेछु” अर्का सहभागी सीमा तामाङले अनुभव सुनाउँदै भन्नु भयो ।
करुणामा ध्यान साधनामा करिब ५ दर्जन बौद्ध धर्मका अनुयायीहरुको सहभागिता रहेका थियो । समापन समारोहमा सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
५ दिने ध्यान साधनामा राष्ट्रिय महिला तथा बालबालिका परिषदका सदस्य तथा प्रसिद्ध सेलो गायिका इन्दिरा योञ्जन , गुम्बा बिकास समितिका कर्मचारीहरु सन्जु योङ्ग्या, लक्ष्मी रुम्बा, म्हारसाङ तामाङ लगायत सञ्चारकर्मीहरू समेत हुनुहुन्थ्यो ।