![](https://radioshwetashardul.org/wp-content/uploads/2024/04/rabi-lamichhane.jpg)
गृहमन्त्री लामिछानेविरुद्ध पेस भएको रिट निवेदन सर्वोच्चद्धारा अस्विकार
काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ (रिट निवेदन दर्ता गर्न अस्वीकार)भएको छ ।
सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै दरपिठ को आदेश गरेका हुन् ।
रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले असाधारण अधिकार क्षेत्र (रिट निवेदन)को प्रयोग गर्न अस्वीकार गरेको हो ।
आदेशमा भनिएको छ, “निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन, रिट निवेदकका माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।”
सहकारी ठगीको आरोप लागेका गृगमन्त्री लामिछानेलाई पदमुक्त गर्नुपर्ने आदेशको माग गरी युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।