बझाङ उपनिर्वाचन : साझो एजेण्डाका रूपमा ताक्लाकोट सडक

काठमाण्डौ । शनिबार हुने प्रदेश सभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।

साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन् । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी र नेकपा (एमाले)का उम्मेदवार ऐन महरको प्रमुख एजेण्डा पनि ताक्लकोट सडक नै थियो ।

प्रदेश सभा सदस्यका उम्मेदवार कांग्रेसका स्व पृथ्वीबहादुर सिंह, एमालेका अफिलाल ओखेडा, माओवादीका भीम भण्डारीको चुनावी एजेण्डा पनि सोही सडक निर्माण थियो । बझाङको राजनीतिको बागडोर सम्हाल्नुभएका वर्तमान सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री भानुभक्त जोशी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंह २०४८ सालदेखि नै निर्वाचन लड्दै आउनुभएको छ । पाँच÷पाँच पटक चुनाव लडिसक्नुभएका सिंह र जोशीको सुरुदेखि कै एजेण्डा चैनपुर–ताक्लाकोट सडक नै हो ।

चीनले दशकअघि नै ताक्लाकोटमा सडक पु¥याउँदासमेत नेपालको पक्षमा जनतालाई आश्वासन मात्रै भइरहेको छ । “लामो समय बित्दासमेत काम नहुनु र पार्टीगत प्रचार मात्रै हुनुले जनतालाई अन्योलमै राख्नु हो”, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भन्नुभयो, “ताक्लाकोट सडक बनाउँछौँ भनेर सुनेको ३२÷३३ वर्ष भइसक्यो, अहिलेसम्म रुपातोलाभन्दा माथि सडक पुग्न सकेको छैन, सबै दलहरूले त्यसैको नाममा खेतीपाती गरिरहेका छन् ।”

उहाँका अनुसार अहिले पालिकाले तलकोटबाट कुवा हुँदै सडक काटिरहेको छ । “पालिकासँग धेरै बजेट हुँदैन, हाम्रो क्षमताअनुसार पालिकामा सडक पु¥याएर माथिबाट ताक्लाकोट सडक काट्ने गरी लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

ताक्लाकोट सडकमा करोडौँको योजनाबाट खासै काम नभएको उहाँले बताउनुभयो । “सबै दलले प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको बेलामा सडक बनाउने आश्वासन दिन्छन्, भोट माग्छन् र फर्केर आउँदैनन्”, उहाँले भन्नुभयो ।

वि.सं. २०४८ यता भएका हरेक चुनावमा उम्मेदवारको एउटै एजेण्डा ताक्लाकोट सडक साझा बनिरहेको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताउनुभयो । “बझाङमा उम्मेदवार फेरिए पनि एजेण्डा फेरिएनन्, एउटै सडकका लागि तीन दशक लामो राजनीति भइरहेको छ, जहिल्यै उम्मेदवारले एउटै एजेण्डाको भजन गाइरहेका छन्”, उहाँले भन्नुभयो ।

कार्कीका अनुसार ताक्लाकोट सडक बनाउँदा बझाङ्गी उत्पादनले बजार पाउने, आर्थिक गतिविधि बढ्नेलगायतका आश्वासन हरेक निर्वाचनमा आउने गरेका छन् । “सडक निर्माण भने निकै कछुवा गतिमा छ, हरेक दलले आफ्नो पार्टीले सडकका लागि बजेटको व्यवस्था गरिरहेको र फेरि पनि बजेट हाल्ने आश्वासन दिइरहेको छन्”, उहाँले भन्नुभयो ।