उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि भोट माग्न नपाइने

काठमाण्डौ । वैशाख १५ गते शनिवार इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा–१ (क) मा हुने उपचुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधि शुरु भएपछि राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रचार गर्न पाउने छैन । निर्वाचन आचारसंहिताको पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आचारसंहितामा मतदान शुरु हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । मौनअवधि भित्र प्रचार प्रसार गर्न र भोट माग्न पाइँदैन । मौन अवधि शुरु हुनुअघि नै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ । एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतिय माध्यम र सामाजिक सञ्जालबाट पनि मत माग्न र प्रचार गर्न नपाइने उल्लेख गरिएको छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइनेछैन । यसैबीच आयोगले उपचुनावमा मतदाता परिचय पत्रसँगै अन्य जुनसुकै परिचय पत्रबाट मतदाताले मतदान गर्न सक्ने जनाएको छ ।