दुई हप्ताभित्रमै नेपालगञ्ज आईसीपी सञ्चालन हुने
काठमाण्डौ । नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) अबको दुई हप्तामै सञ्चालन हुने भएको छ ।
भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट शुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।
आईसीपी सञ्चालनमा आएपछि मालवाहक गाडीको जाँचपास आईसीपीबाटै गरिने उहाँले जानकारी दिनुभयो ।
गएको वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको ’भर्चुअल’ माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन भएको झन्डै एक वर्षपछि हिजो मात्रै भारतले नेपाल सरकारलाई नेपालगञ्ज आईसीपी हस्तान्तरण गरेको हो ।