शिक्षा शाखा प्रमुख र कर्मचारीलाई कारबाही सिफारिस

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ ।

शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बलबहादुर नेपाली र कार्यालय सहयोगी भरत थारुलाई दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिएको थियो। मिजारलाई भने निलम्बन गर्ने गरी सिफरिस गरिएको नगरपालिकाले जनाकारी दिनुभयो ।

चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षाको नतिजा २३ गते सार्वजनिक भएको थियो । उक्त परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै उजुरी परेपछि नगरपालिकाले कार्यपालिका सदस्य वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।

मातहतका कर्मचारीको लिखित रुपमा जिम्मेवारी बाँडफाँड नगरेको, परीक्षासम्बन्धी गतिविधिलाई प्रभावकारी गराउन निरीक्षण, अनुगमन तथा निर्देशन नगरेका कारण अनियमितता मौलाएको पाइएकाले शाखा प्रमुखको हैसियतमा हमाल दोषी देखिएको मेयर आचार्यले स्पष्ट पारे निजामति कर्मचारीलाई निजामति ऐन २०४९ अनुसार कारबाहीको सिफारिस गरिएको छ भने अन्यलाई शिक्षा ऐन २०२८ अनुसार कारबाहीको लागि सिफरिस गरिएको छ। कोहलपुर नगरपालिकाको करारमा शिक्षण पेसामा संलग्न भएकाको भने करार सम्झौता रद्द गरिने नगर प्रमुख आचार्यले बताउनु भयो

नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८ सय ६४ जना विद्यार्थीले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८ सय ११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । संस्थागत तर्फ ६९.८७ प्रतिशत उत्तीर्ण भएका थिए भने सामुदायिक तर्फ १४.८० प्रतिशत उत्तीर्ण भएका थिए ।