पोखरालाई पर्यटन राजधानी घोषणा गर्न हतार गरियो ः मुख्यमन्त्री अधिकारी
काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणा गर्न हतार गरिएको बताउनुभएको छ। पोखरा लेकसाइडमा सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको मंगलबार उद्घाटन गर्दै उहाँले सो भनाइ राख्नुभएको हो।
मुख्यमन्त्री अधिकारीले पर्यटकीय राजधानी भनेर सङ्घ सरकारले घोषणा गर्नुपर्नेमा आफ्नो जिम्मेवारीबाट उम्किन प्रदेश र पोखरा महानगरपालिकालाई लगाएकोमा आपत्ति जनाउनुभयो छ । नेपाल सरकारले घोषणा नगर्दा दायित्वबाट पन्छिन खोजेको हो कि भन्ने आशङ्का देखाएको उहाँको भनाइ रहेको छ ।
उहाँले एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधार सहज र गुणस्तरीय हुनुपर्ने भन्दै त्यसका लागि तीन तहका सरकारले जिम्मेवारी लिएर एक्सन कटमा जानुपर्ने बताउनुभयो। तब मात्र राजधानी घोषणालाई साकार बनाउन सकिने उहाँको भनाइ थियो।
स्व. रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा नै पोखरालाई पर्यटनको राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको उहाँले खुलाउनुभयो। पर्यटनको राजधानीका लागि पोखरामा अझै केही पूर्वाधारको अभाव भएकोले पूरा गर्नुपर्नेमा जोड दिनुपर्ने उहाँले भन्नुभयो ।
उक्त होटलका प्रबन्ध निर्देशक हरि गैह्रेले २५ करोड होटल निर्माण गरिएको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा वर्षमा २० लाख पर्यटक ल्याउन सक्ने आधार रहेको दाबी गर्नुभयो। उहाँले पोखराको पर्यटन क्षेत्रमा ६ अर्बको लगानी रहेको खुलाउनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, होटलका जनरल मेनेजर लक्ष्मण खड्का, सञ्चालक बालकृष्ण गैह्रेलगायतले बोल्नुभएको थियो।