इलाका प्रशासनबाट चार महिनापछि सेवा सुचारु
काठमाण्डौ ।कर्मचारी अभावले बन्द भएको खोटाङको इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट चार महिनापछि सेवा सुरु भएको छ । गृह मन्त्रालयले कर्मचारी खटाएसँगै सोमबारबाट नागरिकता जारी लगायतका सेवा पुनः सुरु भएको छ ।
मन्त्रालयले सोही कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई दिएको कायम कायममुकायम अवधि सकिएपछि गत पुस २४ गतेदेखि इलाका प्रशासन कार्यालयको नागरिकता वितरणलगायतका अत्यावश्यक सेवाहरु रोकिएको थियो ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालय खोटाङमा कार्यरत नासु आचार्यलाई ६ महिनाका लागि कायम कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएर इलाका प्रशासन कार्यालयमा खटाएको हो ।
इलाका प्रशासन कार्यालयको सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेको गुनासो आएपछि गत माघ २९ गतेका दिन जिल्ला प्रशासन कार्यालयबाट नासु आचार्य र लीलाबहादुर बिक गएर नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचय–पत्र वितरण लगायतका सेवाहरु सुरु गर्नुभएको हो ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका थिए ।