सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
काठमाण्डौ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ रहेको छ ।
सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल १,२६६ मेट्रिकटन युरिया र ३४४ मेट्रिकटन डीएपी मल मौज्दात रहेको कार्यालय प्रमुख नवलसिंह बोगटीले बताउनुभयो ।
उहाँले कृषि सामग्री कम्पनीमा केही मल मौज्दात रहेको र बाँकी मल केही दिनमै आइपुग्ने भएकाले यस वर्ष मल अभाव हुने अवस्था नरहेको उहाँको भनाइ छ । अन्य वर्षको तुलनामा गत वर्षबाट किसानले सहजरूपमा मल पाइरहेको उहाँले भनाई छ ।
सहकारीमार्फत रासायनिक मल वितरण गरिन थालेपछि यहाँका किसानले सहजरुपमा मल पाइरहेको कार्यालय प्रमुख बोगटीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने गरेको जनाइएको छ ।
प्रदेशभर कूल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग मल मौज्दात नरहेपनि भैरहवाबाट मल आउन थालिसकेको जनाइएको छ । सुदूरपश्चिममा एक लाख ७९ हजार नौ सय १७ हेक्टरमा धान खेती र एक लाख ४९ हजार हेक्टरमा गहुँखेती गरिँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।