तराईमा चार दिनसम्म तातो हावा चल्ने

काठमाण्डौ । अत्याधिक गर्मी बढेको तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको हो ।

सोमबार दिउँसोको तथ्यांकअनुसार भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

आगामी चार दिनसम्म धनुषादेखि कञ्चनपुरसम्म अत्याधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

अत्याधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित बनेको छ l