गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

काठमाण्डौ । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ ।

ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिम छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाटलगायतका क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले जोखिम केही घटेको छ । नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताउनुभयो । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।