एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाण्डौ ।  ललितपुरको गोदावरीमा चलिरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । परिषद्को पहिलो बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको छ ।

यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची रहेको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणालाई नेपालको राजनीतिमा महत्वकासाथ हेरिएको छ ।

यस्तै एमालेले भोलि गोदावरीमै नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । भोलिकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताको उपस्थिति रहने नेकपा एमालेले जनाएको छ ।