तेस्रो स्थानको खेलमा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाण्डौ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउनुभयो ।

सन्दीप जोराले २२, कप्तान रोहितकुमार पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुलशन झाले ६ र आशिफ शेखले पाँच रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट हुनुभयो । उहाँ यस प्रतियोगितामा लगातार तेस्रो पटक शुन्य रनमा आउट हुनुभएको हो । यस्तै करण केसीले ३ र ललित राजवंशीले दुई रन बनाउनुभयो ।

बलिङमा हङकङका आयुश शुक्लाले तीन विकेट लिदाँ अतिक्वी इकबल, यासिम मु्र्ताजा र इशान खानले एक एक विकेट लिनुभयो । एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपाल र हङकङ समूह चरणमा एकअर्कासंग खेलिसकेका छन् । नेपालले समूह चरणको खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।