एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाण्डौ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुँदैछ ।

आज र भोलि ललितपुरको गोदावरीमा रहेको सनराइज सभाहलमा हुने बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये दुई हजार ७३ जना महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र तीन सय ८१ जना आयोजक छन् । परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । परिषद् बैठकमा यसअघि भएको मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायतका विषय पनि समीक्षा हुने एमालेले जनाएको छ ।

दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमार्फत विगतका कामको विश्लेषण गर्दै भविष्यको मार्गचित्र खाका बनाउने एमालेको तयारी छ । दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ ।

एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा भएको थियो । पाँच / पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्ष बाँकी छ । एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने र सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

यसैबीच एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको हीरक महोत्सव पनि मनाउने भएको छ । नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रमसहित हीरक महोत्सव मनाउन लागेको हो । १० गते गोदावरीमै हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुलाईसमेत एमालेले आमन्त्रण गरेको छ ।