वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुन्छ : नेपाली कांग्रेस
काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने बताउनुभएको छ ।
आज (शुक्रबार) पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो ।
प्रवक्ता महतले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिनुभयो । उहाँले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गर्नुभयो ।
प्रवक्ता महतले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताउनुभयो । उहाँले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली कांग्रेस सचेत र सजग रहेको बताउनुभयो ।
प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताउनुभयो । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताउनुभयो ।