विश्वकै प्रदूषित सहरको सूचीमा काठमाण्डौ पुनः पहिलो नम्बरमा

काठमाण्डौ । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाण्डौ पुनः पहिलो नम्बरमा परेको छ । वातावरण विभागको आज (शुक्रबार) दिउँसो ३ बजेको रेकर्डअनुसार काठमाण्डौको शंखपार्कमा वायुको गुणस्तर एक्यूआई २५५ पुगेको छ ।

वायु प्रदूषणको यो तह अति अस्वस्थकर अवस्था हो । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको रेकर्डअनुसार नेपाल विश्वका १२२ प्रदूषित सहरमध्ये एक नम्बरमा छ । यसअघि अप्रिल ७ मा पनि काठमाण्डौ प्रदूषित सहरको पहिलो नम्बरमा परेको थियो । सो दिन एक्यूआई २१५ पुगेको विभागको रेकर्ड छ ।

वातावरण विभागको तथ्यांकअनुसार काठमाण्डौ उपत्यकाको कीर्तिपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटी लगायतका क्षेत्रमा एक्यूआई ११२ देखि १४३ सम्म छ ।

काठमाण्डौमा बिहीबार २४ घण्टाको वायुको गुणस्तर एक्यूआई १५८ सम्म पुगेको विभागको रेकर्ड छ । एक्यूआई २०० भन्दा माथि रहेको वायुलाई विश्व स्वास्थ्य संगठनले अति अस्वस्थकरको वर्गमा राखेको छ ।