सुप्रिम सहकारीको एक अर्ब घोटला प्रकरणमा ७ जनाको बयान सकियो

काठमाण्डौ। बचतकर्ताको १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूमध्ये ७ जनाको बयान सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले बताउनु भएको छ ।

मंगलबार र बिहीबार जिल्ला अदालत रुपन्देहीमा ७ जनाको बयान सकिएको उहाँले बताउनु भएको हो । उक्त मुद्दामा प्रतिवादी बनाइएकामध्ये ७ जनाको बयान सकिएको र १ जनाको बयान सकिएपछि सरकारी वकिलको प्रतिउत्तरपछि थुनछेक आदेश हुनेछ ।

१ नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासमा उनीहरुको बयान भएको हो । मरासिनीका अनुसार उक्त मुद्दा प्रतिवादी बनाएका २८ जनामध्ये निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ र नवीन अछामीको बिहीबार बयान लिने काम भइरहेको छ । उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

अहिलेसम्म ओमप्रकाश गुरुङ, दिपेश पुन, रोशनी गुरुङ, निता थापा मगर, दुर्गा चापागाई पाण्डे, नविन अछामी, दीपक न्यौपानेको बयान सकिएको हो । अब ओमप्रकाश गुरुङको बयान शुक्रबार हुने सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनु भएको हो ।