
२०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रको भनाइ
काठमाण्डौ । २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
गएको चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवम् डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत् पुस्तक पुर्याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो ।
उहाँले जनक शिक्षा सामग्री केन्द्रले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै शतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेको बताउनु भएको हो ।
केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको छ । केन्द्रले गएको वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो ।
यस वर्ष पुस्तकको माग कम भएकाले गएको वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । गएको वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टकमा रहेको केन्द्रले जनाएको छ ।
कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तत्काल पुर्याउने पनि केन्द्रले जनाएको छ । अहिलेसम्म पुस्तक पाउन नसकेको गुनासो नआएको निर्देशक झाको भनाई छ ।