चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न अख्तियारलाई पत्राचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ ले दोषी देखाएकाहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई लेखी पठाउने र आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने मन्त्रिस्तरीय निर्णय गरेको उहाँको सचिवालयले जनाएको छ ।
२०७४ माघमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेको थियो । गत चैत २८ गते शिक्षामन्त्री श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरेर कारवाही प्रक्रियामा लैजाने निर्णय गरेकी थिइन् । प्रतिवेदनमा चिकित्सा शिक्षा क्षेत्रमा अनियमिततामा संलग्न ४२ जना माथि कारबाही सिफारिस गरिएको छ ।
आयोगले कानुनविपरीतका कार्यमा संलग्न अधिकांश अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने सिफारिस समेत गरेको छ भने कतिपयमाथि भ्रष्टाचार मुद्दामा छानबिन हुनुपर्ने भनेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा अनियमितता देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आयोगको प्रतिवेदन पछि चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग गठन भएपनि दोषी ठहर गरिएका माथि कारवाही भने हुन सकेको थिएन् । जाँचबुझ आयोगमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष तथा डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिय सूर्यप्रसाद गौतम सदस्य–सचिव थिए ।