आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको उपचारको क्रममा निधन, अन्त्येष्टि भोलि गरिने

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाण्डौमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार डाँगीको शवलाई सोमबार श्रद्धान्जलीको लागि धुम्बाराहिस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। त्यसपश्चात डाँगीको शवलाई उनको गृहजिल्ला बर्दिया लगिने र मंगलबार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिए ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए। प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा धेरै समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।