नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज छिचोलिंदै

काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छिचोलिने भएको छ ।  दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच सुरुङ छिचोल्ने तयारी भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले उज्यालोलाई जानकारी दिनुभयो । सुरुङ छिचोल्नको लागि दुई मिटर मात्र बाँकी रहेको र आज छिचोल्ने उहाँले बताउनुभयो ।

काठमाण्डौको चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ झण्डै साढे दुई किलोमिटर अर्थात दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ भने गएको साउनमै छिचोलिसकेको छ ।

सुरुङ आज छिचोल्ने भए पनि आयोजना निर्माण सम्पन्न भएर गाडी चल्न भने अझै एकदेखि डेढ वर्षसम्म लाग्न सक्ने उपनिर्देशक दुमरुले बताउनुभयो । आयोजना निर्माणको शुरुआती सम्झौताअनुसार काम शुरु भएको ४२ महिनाभित्र अर्थात् गएको वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान अर्थात भेन्टिलेसन लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।