एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालसंग मलेसिया ५ विकेटले पराजित
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएके हो।
मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जोराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बोहराले १ विकेट लिए ।
यस्तै आज नै भएको खेलमा घरेलु टोली ओमान र यूएईले विजयी शुरुवात गरेका छन् । ओमानले बहराइनलाई ३ रनले हरायो भने यूएईले कुवेतलाई ७ विकेटले हराएको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिबार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।
भोलिदेखि सुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
टी–२० फर्म्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।