
एसीसी प्रिमियर कप ओमानमा शुरु हुँदै, नेपालले आज मलेसियासँग खेल्दै
काठमाण्डाै । आजदेखि ओमानमा एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । आज एकैदिन चार वटा खेल हुँदैछन् । नेपालले आज पहिलो खेल बेलुका सवा ४ बजे मलेसियासँग खेल्दैछ । यो खेल अल अमिरातमा हुनेछ ।
त्यसअघि बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ । यस्तै सवा ४ बजे हङकङ र कतार खेल्नेछन् ।
प्रतियाेगितामा नेपालले दाेस्राे खेलमा शनिवार कतारसँग, वैशाख ३ गते साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।
आजदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।