प्रतिनिधिसभाको बैठकः गृहमन्त्रीको कार्यसूची हटाइयो

काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ । सो कार्यसूची हटेपछि बुधवार बस्ने प्रतिनिधिसभाको बैठक अवरोध नहुने  अनुमान गरिएको छ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै सहकारी अपचलनमा उहाँका संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति नबनाए सम्म संसद्को कारबाही अगाडि बढ्न नदिने अडान लिँदै आएको छ।

यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा काँग्रेसका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

त्यसपछि स्थगित भएको प्रतिनिधि सभाको बैठकमा यो कार्यसूची राखिएको थिएन । चैत २७ गते मङ्गलवार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।तर, मङ्गलवार पनि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

मङ्गलवार १५ मिनेटका लागि स्थगित भएको बैठक बुधवार बोलाइएको छ । बुधवार को बैठकमा गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ ।