नेपालमा ऊर्जा क्षेत्रमा आयोजना थपिँदै, अनुगमन र निरीक्षण गर्ने जनशक्ति नियुक्ति कमजोर

काठमाण्डौ । नेपालमा ऊर्जा क्षेत्रमा आयोजना थप हुने क्रम बढ्दै गएको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रबाट ऊर्जामा लगानी गर्ने क्रम बढेको हो । अहिले निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या एक सय ४२ वटा पुगेको छ ।

विद्युत् विकास विभागका अनुसार निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाको सङ्ख्या एक सय ४४ वटा छन् । कतिपय आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माण अनुमतिका लागि आवेदन दिएका आयोजनाको सङ्ख्या एक सय चार वटा छन् । विभागले ८३ वटा आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । २६ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति माग गरी आवेदन प्राप्त भएको छ । १२ वटा विभिन्न क्षमताका प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण भइरहेको छ ।

सरकारले निजी क्षेत्रलाई जिम्मा दिएका आयोजना कानुनअनुसार २५ वर्षपछि राज्यकै स्वामित्वमा आउँछ । ती आयोजना निर्माणको गुणस्तरदेखि प्रयोग भएका उपकरणबारे विभागले नियमितरूपमा अनुमगन गर्नुपर्छ । सरकारले ऊर्जा मिश्रणको अवधारणासमेत अगाडि सारेर वैकल्पिक ऊर्जाको विकासमा पनि उत्तिकै जोड दिएको छ । वायु र सौर्य ऊर्जा तथा सहउत्पादनका स्रोतसमेत सञ्चालन तथा निर्माण अवस्थामामा छन् ।

तर यस्ता आयोजनाको अनुगमन र निरीक्षण गर्ने जनशक्ति नियुक्तिमा भने सरकारको ध्यान पुग्न सकेको छैन । विद्युत् ऐन २०४९ को दफा ३७ ले प्रमुख विद्युत् निरीक्षक र विद्युत् निरीक्षकको प्रबन्ध गरेको छ । कानुनमा व्यवस्था भए पनि अहिलेसम्म पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।

सरकारले विद्युत् ऐन संशोधनका लागि सङ्घीय संसदमा विधेयक पेस गरिसकेको छ । विधेयक छलफलकै चरणमा छ । विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलका अनुसार ऐनमा भएको प्रबन्धअनुसार नै प्रमुख विद्युत् निरीक्षक र आवश्यक सङ्ख्यामा विद्युत् निरीक्षक नियुक्तिका लागि पहल भइरहेको छ । विभागले अहिले वरिष्ठ डिभिजनल इन्जिनियर चिरञ्जीवी झालाई प्रमुख विद्युत् निरीक्षकको समेत काम गर्ने जिम्मेवारी तोकेको छ । यस्तै इन्जिनियर कर्सन महर्जनलाई विद्युत् निरीक्षकका रूपमा खटाएको छ ।