बरोडासँगको अन्तिम खेलमा नेपाल ३७ रनले पराजित
काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।
बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जोडे । बलिङतर्फ बरोडका ध्रुव पटेलले ४ र लक्षित तोक्सियाले ३ विकेट लिए ।
यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।
नेपाल यसअघि नै लगातार तेस्रो जितसहित फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो ।
अब नेपालले फाइनलमा गुजरातसँग खेल्नेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आइतबार हुनेछ ।