
संघीय निजामती सेवा विधेयक २०८० माथिको सैद्धान्तिक छलफल सुरु
काठमाण्डौ । संघीय निजामती सेवा विधेयक २०८० माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । आज (बुधबार)को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले विभिन्न पक्षबाट विषय उठान गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले कर्मचारीलाई ट्रेड युनियनबाट बाहिर राख्नुपर्ने बताउनुभयो । उहाँले स्थायी सरकार भनिएको निजामती प्रशासनलाई ‘जय नेपाल, लाल सलाम, जय मधेस’ भन्न दिने वातावरणको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद यादवले निजामती कर्मचारीलाई २४ घण्टा काम गर्ने गरी वातावरण तयार गर्नुपर्ने र अनावशयक बिदा कटौती नगरे देश विकास नहुने धारणा राख्नुभयो । सत्तारूढ दलकै सांसद योगेश भट्टराईले ट्रेड युनियनको परिभाषा बदल्नुपर्नै समय आएको धारणा राख्नुभयो । उहाँले युनियनलाई अब अधिकारभन्दा पनि उत्पादन र प्रतिफलसँग जोड्नुपर्ने बताउनुभयो ।
साथै उहाँले माथिल्ला तहका कर्मचारीको अवकाशपछि कुलिङ पिरीयड राखेर मात्र संवैधानिक आयोगमा जाने व्यवस्था गरिनुपर्ने र विदेशी संस्थामा काम गर्न निषेध गर्नुपर्ने धारणा राख्नुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले निजामती प्रशासनलाई नागरिक प्रशासन सेवाको रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पनि प्रशासनभित्र प्रभावकारिता हराउँदै गएको भन्दै यसलाई पुर्नस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।