त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा लाङटाङको फोटो प्रदर्शनी
काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो ।
उहाँहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटो मध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिनुभयो ।
प्रदर्शनीमा लाङटाङको सहरीकरण, भौगोलिक परिर्वतन, रहनसहन, परम्पराका साथै २०७२ सालको भूकम्पले पारेको प्रभाव र त्यसपछि भएको पुनर्निर्माणको परिदृश्य तस्बिरबाट अवलोकन गर्न सकिन्छ । प्रदर्शनी आज बेलुका ५ बजेसम्म त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवनमा हुनेछ ।