सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने माओवादी केन्द्रका सांसद सुवेदीको भनाइ

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताउनुभयो ।

सांसद सुवेदीले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गर्नुभयो । उहाँले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताउनुभयो । सांसद सुवेदीले उद्योगधन्दाहरु सञ्चालन गराउनुपर्ने र रोजगारकिो सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अन्य सांसदहरुले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल सुरु गर्नुपर्ने सुझाव दिनुभयो ।