इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्री दाहालको निर्देशन
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो ।
नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिनुभयो ।
जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।