समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ : नेता खनाल
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताउनुभएको हो । उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताउनुभयो ।
सम्मानित नेता खनालले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताउनुभयो । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताउनुभयो । उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनुभयो साथै उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो ।