काँग्रेसले गृहमन्त्रीको राजीनामा माग्नु राजनीतिक प्रतिशोध : नेता ज्ञवाली
काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ ।
आज (आइतबार) पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा मात्र एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने उहाँले बताउनुभयो ।
आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु केही हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको दाबी गर्नुभयो ।