चाँदवाग रेसिडेण्सी प्रालिको नाममा रहेको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय
काठमाण्डौ । चौधरी ग्रपको स्वामित्वमा रहेको तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हाल सिजी चाँदवाग रेसिडेण्सी प्रालिको नाममा रहेको जग्गा सरकारीकरण गर्ने निर्णय गर्नुभएको हो ।
यसअघि भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार २१ दिनभित्र उक्त जग्गा सरकारीकरण गर्न चाँदवाग स्कुललाई पत्र पठाए पनि अदालतको आदेशका कारण रोकिएको छ । चाँदवाग स्कुलले जग्गा सरकारीकरण गर्ने म्यादविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको थियो । मालपोत कार्यालकाको प्रक्रिया रोकिएकै अवस्थामा भूमिसुधार मन्त्रालयले जग्गालाई सरकारीकरण गर्ने निर्णय लिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड हुँदै अहिले चौधरीको स्वामित्व रहेको सिजी चाँदबाग रेसिडेण्सीमा पुगेको हो । उक्त प्रकरणमा गत फागुन १८ गते सीआईबीले सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको भन्दै तत्कालीन सत्ता साझेदार कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि चर्को दबाब दिएको थियो । जग्गाका विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँग बिहीबार सिआईबीले बयान लिएको छ ।