मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैन : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन् ।
बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै कसरी काम अगाडि बढिरहेको छ भनि मन्त्री श्रेष्ठसँग जवाफ मागेकी थिइन् ।
सांसद भट्टराईको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् । उनले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि नभएको स्पष्ट पारिन् । उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोहीअनुरुप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन् ।
उनले भनिन्, ‘सुदूर र मध्यपश्चिम विश्वविद्यालयको मापदण्ड कडा भयो भनेर आवाज उठेकाले रोकिएको थियो । आज चिकित्सा शिक्षा आयोगको बिहान बालुवाटारमा बैठक थियो । त्यो दुइटा विश्वविद्यालयको सर्च कमिटीमा म सहकुलपतिको हैसियतले छैन । त्यसको नेतृत्व युजिसीको अध्यक्षले गर्दै हुनुहुन्छ । र प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेर विश्वविद्यालयको लिडबाट अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर कन्भिन्स् पनि गरिरहेका छौं । त्यहीअनुरुप हामी अगाडी बढ्छौं । त्यसको लागि अब रोकिँदैन ।’
मन्त्री श्रेष्ठले नर्सिङ शिक्षामा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायहरुसँग बैठक गर्ने र आवश्यक कदम चाल्ने बताइन् ।