गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने कांग्रेसको माग कायमै

काठमाण्डौ । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोएको छ ।

प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो ।

उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिनुभयो । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका र पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले पनि सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना भएको देखाएकोले छानबिन आवश्यक भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो (मंगलबार) प्रतिनिधि सभाको बैठकमा लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गर्नुभएको थियो । त्यसमा आपत्ति जनाउँदै सांसद न्यौपानेले सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गर्नुभयो ।