आठौँ आरबीबी भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश
नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी च्याम्पियनसिपको मङ्गलबार भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । खेल हारेपनि एभरेष्ट पनि सेमिफाइनलमा पुगेको छ । मङ्गलबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
यसैगरी पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा पुगेको छ । मङ्गलबार हेल्प नेपालले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपाल समूह ‘ए’ को विजेता बनेको हो । दोस्रो हारसँगै ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।