२५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजार रुपैयाँको कारोबार

काठमाण्डौ । भृकुटीमण्डपमा चैत्र १ गतेदेखि हिजो (आइतबार) सम्म सञ्चालन भएको २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार एक सय जनाले अवलोकन गरेका एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपालमा मूख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ वटा जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

एशोसिएसनका अध्यक्ष तामाङका अनुसार नेपालमा अहिले व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । नेपालमा झण्डै एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूलको खेती गर्दछन् । वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।