इलाम–२ बाट मिलन लिम्बूको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाण्डौ । इलाम क्षेत्र नम्बर २ बाट पत्रकार मिलन लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनका लागि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । आज (आइतबार) काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बूले यसको जानकारी दिनुभयो ।

इलाम–२ को विकास गर्न आफू उपयुक्त व्यक्ति रहेको उहाँको दाबी छ । उपनिर्वाचनमा मात्रै नभएर इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने उहाँले वाचा पनि गर्नुभयो ।

‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु,’ उहाँले भन्नुभयो ।

त्यसैगरी उहाँले राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचारको विरुद्ध सदैव लडिरहने पनि बताउनुभयो । ‘राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु ।” उहाँले भन्नुभयो ।

आफ्नो उम्मेदवारीले इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने अभियानमा सघाउ पुग्ने स्वतन्त्र उम्मेदवार लिम्बूको धारणा छ । इलामेली जनतासंग निरन्तर साथ र सहयोगका लागि उहाँले अपिल गर्नुभएको छ ।

मिलन लिम्बू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समेत हुनुहुन्छ ।  २ दशक भन्दा बढी समय पत्रकारितामा आवद्ध लिम्बू झापा दकमको एक स्थानीय टेलिभिजन, काठमाडौंको एबिसी टेलिभिजन, न्युज २४ टेलिभिजन हुँदै पछिल्लो समय दृष्टि अनलाईनमा सम्पदक हुनुहुन्थ्यो ।

नेकपा (माओवादी) निकट प्रेस सेन्टरका केन्द्रीय सचिव लिम्बूले यसअघिनै दलगत राजनीतिक आवद्धता त्यागेको घोषण गर्नुभएको थियो । आइतबारको पत्रकार सम्मेलनमा पत्रकरिता र फोनिज लगायत पत्रकारजन्य संघसंस्थाबाट समेत अलग रहने उहाँले जानकारी गराउनु भयो ।

इलाम–२ बाट निर्वाचित नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त प्रतिनिधी सभामा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म उम्मेदवारी घोषणा गर्नुभएका डकेन्द्र थेगिमसँगै इलाम-२ उपनिर्वाचनमा पहिचानवादी परिचय बोकेका  मिलन लिम्बू सहित २ जना उम्मेदवार मैदानमा देखिनु भएको छ ।