नयाँ गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूले बुझे

काठमाण्डौ।  सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेताहरूलाई बुझाइएको छ ।

दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुझ्नुभएको छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवम् नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य हुनुहुन्छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा आर्थिक विकास र समृद्धि, अर्थतन्त्रमा अहिले देखिएका चुनौती तथा समाधान, नागरिक हितका विषयलाई प्राथमिकतामा राखिएको छ ।